info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


मृदुषा श्रेष्ठ स्मृति चेस प्रतियोगिता सम्पन्न

2020-02-02


मृदुषा श्रेष्ठ स्मृति चेस प्रतियोगिता सम्पन्न पुष्पसदन आवासीय मा. वि. कीर्तिपुरद्वारा आयोजित मिति २०७६ माघ ११ गते सुरू भएको मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला तथा अन्तर्विद्यालय चेस प्रतियोगिता आज सम्पन्न भएको छ । खुल्लातर्फ १८०० भन्दा कम फिडे रेटिङ भएका खेलाडीहरुले मात्र भाग लिन पाउने उक्त प्रतियोगिताका पुरुषतर्फको ७ चरण पार गर्दै काठमाडौँ गोल्डेन गेटका युवराज पौडेलले प्रथम स्थान, सुसन गौतमले द्वितीय स्थान र काभ्रेका नवीनकुमार चौधरीले तृतीय स्थान हासिल गरी क्रमशः रू २०,०००।–, १०,०००।– र ७,०००।– नगद प्राप्त गरे । चतुर्थ स्थानमा राजेन्द्रकुमार पराजुलीले ४,०००।– र पाँचौँ देखि दशौँ स्थान हासिल गर्ने क्रमशः अर्जुन घिमिरे, एक्समार्शल एच.सी., केशव मानन्धर, रामभक्त श्रेष्ठ, सुरज सिंह र विराज पुडासैनीले जनही रू १,०००।– सहित प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी महिलातर्फ गोल्डेन गेट, काठमाडौँकी अनिशा न्यौपानेले प्रथम, त्रियोग स्कुलकी सुश्री रिया श्रेष्ठ द्वितीय र थापाथली चेस क्लबकी सुश्री शान्ति धिमाल तृतीय भई प्रमाणपत्रसहित महिला प्रोत्साहन अतिरिक्त पुरस्कार क्रमशः रू ५,०००।–, ३,०००।– र २,०००।– प्राप्त गरे भने चौथो र पाँचौँ स्थानमा क्रमशः सुश्री मार्शल तामाङ्ग र सुश्री आरती छटकुलीले जनही रू १,०००।– प्राप्त गरे । विद्यालयतर्फ बी.एन. एकेडेमीले प्रथम, अन्नपूर्ण स्कुलले द्वितीय र त्रियोग स्कुलले तृतीय स्थानको ट्रफी प्राप्त गरे । विद्यालयतर्फ छात्र र छात्राका छुट्टाछुट्टै सब–जुनियर (कक्षा १ – ४), जुनियर (कक्षा ५ – ७) र सिनियर (कक्षा ८ – १०) समूहमा प्रथमदेखि दशौँ स्थानसम्मका विजेताहरूले मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनको प्रमुख आतिथ्यमा मनोरञ्जनात्मक प्रस्तुतिहरूका बीच सम्पन्न उक्त पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर श्री महर्जनले चेस खेल मष्तिस्कलाई चलायमान बनाउने खेल भएको र कीर्तिपुरमा आजभन्दा २२ वर्षअघि उहाँले नै स्वीस लिगअन्तर्गतको खेल सुरू गरेको सम्झना गरे । कीर्तिपुर नगरपालिकाले पनि मेयरकपअन्तर्गत विद्यालयस्तरमा विभिन्न खेलहरूको प्रशिक्षण र प्रतियोगिता गर्दै आएको कुरा बताउनुहुँदै पुष्पसदनजस्ता विद्यालयहरूसँग सहकार्य गरी भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पन्न गर्न सकिने आशा व्यक्त गरे । विद्यालयका संस्थापक–प्रिन्सिपल श्रीमती यसुदा श्रेष्ठले सो अवसरमा दिवङ्गत हुनुभएकी आफ्नै कान्छी छोरी मृदुषा श्रेष्ठका नाममा प्रतियोगिता आयोजना गर्नुका कारण बताउँदै आफ्नी छोरी आफ्नो साथी र मार्गदर्शक भएको अनुभव बाँड््नुभएको थियो । कार्यक्रममा नेपाल चेस संघका कोषाध्यक्ष श्री ज्ञानेन्द्र महर्जनले आफ्नो मन्तव्य राख्नुभयो भने सभापति विद्यालय संस्थापक अध्यक्ष श्री महेश श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै विगतमा काठमाडौँ उपत्यकाव्यापी तीनवटा चेस प्रतियोगिता स्थानीय समाजसेवी स्व. हरिशरण महर्जनको स्मृतिमा सम्पन्न गरिसकिएकोमा यसपटक राष्ट्रव्यापी रूपमा आफ्नै छोरी विद्यालयका भू.पू. शिक्षिका स्व. मृदुषा श्रेष्ठको नाममा आयोजना गरेको र भविष्यमा यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अठोट रहेको र यसमा नेपाल चेस संघले पक्कै सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । यस प्रतियोगितामा खुल्लातर्फ ११२ खेलाडी र विद्यालयतर्फ २० विद्यालयका १७० छात्रछात्राले सहभागिता जनाएको आयोजक पुष्पसदन स्कुलबाट थाहा हुन आएको छ ।