info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


पुष्पसदनमा विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

2022-07-09


पुष्पसदन आ.मा. विद्यालयमा २०७९ आषाढ २४ गते शुक्रबार अवकासप्राप्त शिक्षकहरूलाई एक औपचारिक समारोहका बीच हार्दिक सम्मानसहित विदाइ गर्ने कार्य सम्पन्न भएको छ । लामो समयदेखि विद्यालयसँग फुल टाइम शिक्षकका रूपमा आबद्ध भई अविछिन्न रूपमा सेवा पु¥याउँदै हालसालै आ–आफ्ना घरायसी कारणले विद्यालयबाट स्वेच्छिक अवकास लिनुहुने ४ जना शिक्षकहरूमध्ये वि. सं. २०४२ देखि पुष्पसदनमा रहेर कार्यालय सञ्चालन तथा लेखा साथै गणित विषयको अध्यापकको रूपमा ३६ वर्ष लामो सेवा अवधि बिताउनुहुने वरिष्ठ शिक्षक श्री नरेन्द्र प्रधानज्यूलाई विद्यालयका संस्थापक  तथा अध्यक्ष श्री महेश श्रेष्ठ तथा संस्थापक तथा निर्देशक श्रीमती यसुदा श्रेष्ठज्यूबाट दुई तोलाको स्वर्ण दीर्घ सेवा पदक तथा सम्मानपत्रको फ्रेमबाट विभूषित गरिएको थियो भने २९ वर्षसम्म नेपाली भाषा शिक्षकका रूपमा सेवा पु¥याउनुहुने श्रीमती कमला गुरुङ साही र २७ वर्षसम्म सामाजिक शिक्षा शिक्षकका रूपमा सेवा पु¥याउनुहुने श्रीमती राधिका कोइराला पन्थीज्यूलाई एक–एक तोला स्वर्ण दीर्घ सेवा पदक तथा सम्मानपत्रको फ्रेमबाट विभूषित गरिएको थियो ।

त्यसै गरी २०६४ सालमा स्वयम्भूस्थित आनन्दकुटी विद्यालयको लामो सेवापछि पुष्पसदनमा प्रवेश गर्नुभएका वरिष्ठ गणित शिक्षक श्री केशरप्रसाद कुँवरज्यूको यस विद्यालयमा १४ वर्ष लामो सेवाका लागि सम्मानपत्र प्रदान गरिएको थियो । १० वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा कार्यरत रहँदै आएका २८ जना शिक्षक कर्मचारीहरूबाट विदाइ लिनुहुने चारैजना शिक्षकलाई ५–५ तोलाको चाँदीको थाली प्रेमको चिनोस्वरूप उपहार प्रदान गरिएको थियो । विद्यालयमा १५ वर्ष सेवा पूरा गरी अवकास लिने शिक्षक तथा कर्मचारीहरूलाई जनही १ तोला तथा ३० वर्ष सेवा पूरा गरी बाहिरिने शिक्षक वा कर्मचारीलाई २ तोला स्वर्ण दीर्घ सेवा पदकबाट सम्मानित गर्ने विद्यालयको प्रचलन रहेको छ । यसअघि विद्यालयमा १८ वर्ष पूरा गरी स्वेच्छिक अवकास लिनुहुने गणित शिक्षक श्रीमती शशी गौतम म्यामलाई पनि १ तोला स्वर्ण पदक प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक, प्रिन्सिपल, इन्चार्जहरू तथा शिक्षक साथीहरूबाट सम्मानित व्यक्तित्वहरूलाई टीका, खादा तथा माल्यार्पण गरी सुरू भएको कार्यक्रमका बीचमा श्री नरेन्द्र प्रधानज्यूले बोल्नुहुँदै आफू विद्यालयसँग भौतिक रूपमा आबद्ध रहे वा नरहे पनि एक स्थानीयको नाताले सदा विद्यालयसँग रहिरहने र विद्यालयका बारेमा बाहिर जनमानसमा चलेको चर्चाका आधारमा विद्यालयलाई विभिन्न माध्यमबाट आवश्यक सुझाव दिई नै रहने वचनवद्धता प्रकट गर्नुका साथै पुष्पसदन स्कुल कीर्तिपुरका अन्य सबै विद्यालयका लागि एक मोडल स्कुलका रूपमा रहेको र पुष्पसदनका राम्रा–नराम्रा दुवै पक्षलाई अरु केही विद्यालयहरूले सिको गर्ने गरेका हुँदा पुष्पसदनले आफ्ना योजनाहरू बनाउँदा यी कुरालाई पनि ध्यानमा राखेर बनाउनुपर्ने सुझाव प्रदान गर्नुभएको थियो । त्यसै गरी, कमला गुरुङ तथा राधिका पन्थी म्यामहरूले पनि आफूहरू पुष्पसदनबाट धेरै नै माया र अभिभावकत्व पाउनुका साथै जिन्दगीका हरेक चुनौतीहरूलाई सकारात्मक रूपमा लिँदै अघि बढ्ने हौसला र आँट पाएको कुरा उल्लेख गर्दै अबका पुस्ताले यी कुराहरूलाई मनन गर्दै सकारात्मक भएर सेवामा लागिरहन उत्प्रेरणा दिनुभएको थियो । प्रशासकीय इन्चार्ज श्री तुलसी क्षेत्रीद्वारा सञ्चालित उक्त कार्यक्रममा सभापतित्वको भार संस्थापक श्री महेश श्रेष्ठले लिनुभएको थियो भने प्रिन्सिपल श्री रामधन राईज्यूले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो ।

त्यसै गरी वरिष्ठ शिक्षक श्री राजु चापागाईले आफ्नो मन्तव्य पोख्दै विदाइको क्षण केही दुःखलाग्दो भए तापनि अब उप्रान्तको नयाँ प्रकारको जीवनले अवकास प्राप्त गर्नुहुने शिक्षक साथीहरू पक्कै पनि नयाँ जोशका साथ आफ्नो जीवन व्यतीत गर्नुहुनेछ भन्ने अपेक्षाका साथ बाँकी जीवन सुखमय, दीघार्यु र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अन्त्यमा निर्देशक श्रीमती यसुदा श्रेष्ठज्यूले सभापति तथा आफ्नैतर्फबाट समेत बोल्दै आफ्ना मन्तव्यसहित धन्यवाद दिनुभएको थियो । अन्त्यमा, शिक्षक परिवारबाट प्रबन्ध गरिएको केक कटाइ तथा वितरणका साथ सुसम्पन्न भएको औपाचारिक कार्यक्रमपछि उपस्थित सम्पूर्णको सम्मानमा रात्रिभोजको समेत आयोजना गरिएको थियो ।